विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिदिन इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको आग्रह

काठमाण्डौ । हमास लडाकु समूहको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशीको रिहाइको कूटनीतिक पहलका लागि परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोन संवाद गर्नुभएको छ ।

उहाँले गएराति इरानी विदेशमन्त्रीसँग फोन कुराकानी गर्नुभएको हो । त्यस अवसरमा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग अब हुने बैठकमा आफूले विपिन रिहाइको विषयलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिनुभएको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

इजरायल र हमास लडाकु समूहबीच पछिल्लो पटक युद्धविराम भएपछि बन्धकलाई मुक्त गर्ने प्रक्रिया चलिरहेको छ । कञ्चनपुरका विपिनको रिहाइका लागि नेपाल सरकारले गएको वर्षदेखि नै कूटनीतिक प्रयास गर्दै आएको छ ।