प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
काठमाण्डौ। गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक र शून्य समयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्री लेखले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताउनुभयो ।
आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उहाँले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पार्नुभयो ।
‘अन्तरजातीय विवाहलाई कानूनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ’, गृहमन्त्री लेखकले भन्नुभयो ।