![](https://radioshwetashardul.org/wp-content/uploads/2025/02/477ce401-12fd-448b-b7ea-81532c52423b-1738754372.jpg)
बेलायतकी अधिराजकुमारीद्वारा कीर्तिपुर आँखा अस्पतालको अवलोकन
कीर्तिपुर । नेपाल भ्रमणमा रहेकी संयुक्त अधिराज्य बेलायतकी अधिराजकुमारी डचेस सोफिया आज कीर्तिपुरस्थित ‘कीर्तिपुर आँखा अस्पताल पुग्नुभएको थियो । उहाँले सो अस्पतालबाट प्रदान भइरहेका सेवाहरूको अवलोकन गर्नुका साथै सेवाग्राहीसँग भेटघाट पनि गर्नुभयो।
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित सो अस्पतालले २०७४ सालदेखि सेवा सुरुवात गरेको थियो । अस्पतालले बेलायतको विकास साझेदार संस्था ‘रिड्ली आई फाउन्डेसन’को सहयोगमा नेपालका विकट उच्च पहाडी क्षेत्रमा निःशुल्क मोतिया विन्दु शल्यक्रिया शिविर सञ्चालन गर्दै आइरहेको छ ।
अधिराजकुमारी सोफिया ‘द इन्टरनेसनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेस (आईएपीबी) को ग्लोबल एम्बेस्डर (विश्व सद्भावना दूत) हुन् । विश्वबाट नै उपचारपछि निको हुने अन्धोपन निवारण गर्ने अभियानमा सक्रिय उहाँले आँखा स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा विश्वव्यापी रूपमा कार्य गर्दै आनुभएको छ। ‘आईएपीबी’ विश्वका आँखा स्वास्थ्य क्षेत्रमा कार्यरत सङ्घ र संस्थाको साझा छाता सङ्गठन हो ।
सो अवसरमा अधिराजकुमारी सोफियाले नेपालको आँखा स्वास्थ्य क्षेत्रमा भएको प्रगतिको उच्च सराहना गर्दै आगामी दिनमा नेपालले आफ्नो प्राथमिक स्वास्थ्य प्रणालीमा आँखा उपचार सेवालाई पनि अझ बलियो बनाउन सुझाव दिनुभयो ।
नेपाल नेत्रज्योति सङ्घले आफ्ना सञ्जालमार्फत नेपालमा आँखा उपचार सेवा प्रवाह गरिरहेको र वार्षिक सङ्घको सञ्जालमार्फत हजारौँ आँखाका बिरामीले निःशुल्क आँखा उपचार प्राप्त गरिरहेका छन् । नेपालमा जनस्वास्थ्य समस्याका रूपमा रहेको ट्रकोमा रोगलाई निवारण गर्न सफल भएको जानकारीबाट अधिराजकुमारी सोफिया अत्यन्तै प्रभावित समेत भएको सङ्घका अध्यक्ष प्राडा चेतराज पन्तले जानकारी दिनुभयो । अध्यक्ष प्राडापन्तले राजकुमारीको सोफिया नेपाल भ्रमणका क्रमममा कीर्तिपुर आँखा अस्पतालको समेत अवलोकन गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द, कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्र, कीर्तिपुर आँखा अस्पताल व्यवस्था समितिका अध्यक्ष प्रा।डा। सविना श्रेष्ठ र मेडिकल निर्देशक डा. एरिक वैद्यले अस्पतालका सेवाका बारेमा अधिराजकुमारी सोफियालाई जानकारी गराउनुभयो।
सङ्घले नेपालका ६७ जिल्लामा आफ्नो स्थायी आँखा उपचार केन्द्रको स्थापना गरिसकेको छ । स्थापनादेखि हालसम्म सङ्घको सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कुल ४ करोड ३६ लाख २६ जना आँखाका बिरामीलाई उपचार सेवा प्रवाह गरिसकेको छ भने ५१ लाख ३३ हजार ६ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको छ । हाल सङ्घअन्तर्गत देशभरमा २८ आँखा अस्पताल, १ सय ६० आँखा उपचार केन्द्र तथा ४४ जिल्ला शाखा सञ्चालनमा रहेका छन् ।
संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार डुयक अफ एडिनब्रा एडवार्ड र अधिराजकुमारी डचेस सोफी हिजो नेपाल भ्रमणमा आउनुभएको थियो ।