‘यूएसएआईडी’ ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) ले विश्वभर रहेका आफ्ना कर्मचारीहरूलाई अमेरिका फर्कन भनेको छ ।

यूएसएआईडीले सूचना निकालेर निश्चित कर्मचारीबाहेक अरूलाई आउँदो शुक्रवार रातिदेखि प्रशासनिक बिदा दिइएको जानकारी गराएको हो । अहिलेको कार्यालयमै बस्नुपर्ने कर्मचारीलाई भोलिसम्ममा जानकारी दिने र बाँकी कर्मचारीले शुक्रवार रातिदेखि बिदा पाउने सूचनामा उल्लेख छ ।

व्यक्तिगत र पारिवारिक व्यवस्था मिलाएर ३० दिनभित्र अमेरिका फर्कने व्यवस्था गर्नुपर्ने र बालबालिकाको विद्यालय, गर्भवस्थालगायतका परिस्थितिमा समयसीमाबारे विचार गर्ने पनि सूचनामा उल्लेख छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरावलोकन गर्ने आदेश गरेपछि यस्तो सूचना जारी भएको हो । ट्रम्पले यसअघि नै यूएसएआईडीका दुई जना उच्च अधिकारीसहित केही कर्मचारीलाई निलम्बन गरिसक्नुभएको छ ।

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ. केनेडीको प्रशासनमा स्थापित भएको हो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरूको प्रतिक्रिया दिन विश्वभर वार्षिक रूपमा अर्बाैं डलर वितरण गर्छ ।

सन् २०२३ मा यूएसएआईडीले विश्वका सयभन्दा धेरै देशमा गरी ४० अर्ब अमेरिकी डलर अर्थात् झन्डै ५५ खर्ब ३७ अर्ब रुपैयाँ खर्च गरेको थियो । विश्वभर रहेका यूएसएआईडीको कार्यालयहरूमा १० हजार जनाभन्दा बढी कर्मचारी रहेका जनाइएको छ ।