फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिवन्ध लगाउँछौं: सञ्चारमन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सद्भाव र धार्मिक सहिष्णुता भत्काउने अभिव्यक्ति दिने सामाजिक सञ्जाललाई कारबाही गर्नकै लागि सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताउनु भएको छ।
भक्तपुरमा आज बुधबार आयोजित रफत सञ्चार क्लबको १५ औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै मन्त्री गुरुङले उक्त कुरा बताउनु भएको हो ।
मन्त्री गुरुङले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यलाई ध्यानमा राखेर वर्तमान सरकार मौजुदा कानुनलाई सुधार गरेर नयाँ नीति तथा कार्यक्रम तर्जुमा गर्न अध्यादेश ल्याएको स्पष्ट पार्नुभयो । मन्त्री गुरुङले धार्मिक, सांस्कृतिक सहिष्णुताका हिसाबले नेपाल सुन्दर मुलुक भएको तर केही अन लाइन सञ्चारमाध्यमले सामाजिक सद्भाव खलबल्याउने कार्य गरेको देखिएकाले त्यस्ताको नियमन गर्न जरुरी रहेको बताउनु भयो ।
मन्त्री गुरुङले सामाजिक सञ्जाल अराजक बन्दै गएको र त्यसलाई नियमन गर्नुपर्ने आम नागरिकहरूकै मागका कारण सामाजिक सञ्जालसम्बन्धी विधेयक ल्याइएको बताउनुभयो ।मनपरी लेख्ने, मनपरी गर्नेकुरा लोकतन्त्र नभएको भन्दै त्यसकै नियमनका लागि संसदमा सामाजिक सञ्जाल सञ्चालन र नियमन गर्ने विधेयक संसदमा पेश गरिएको मन्त्री गुरुङले बताउनु भयो।
मन्त्री गुरुङले केहीले विरोध शुरु गरेको भएपनि लोकतन्त्रमा बिरोध हुनु स्वभाविक रहेको बताउनु भयो । मन्त्री गुरुङले सामाजिक सद्भाव भत्काउने, विद्वेष फैल्याउने, धार्मिक सहिष्णुता भत्काउने कुरा देशद्रोह भएकाले सामाजिक सञ्जालमा त्यस्तो गर्नेलाई दण्ड सजायको प्रावधान राखिएको बताउनुभयो ।
सञ्चारमन्त्री गुरुङले देशमा साइबर क्राइमका घटनाहरु बढिरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न साइबर क्राइम नियन्त्रण गर्ने ऐनको मस्यौदा तयार गरिरहेको बताउनु भयो।
मन्त्री गुरुङले आइटी, सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदा तयार भइसकेको र चालु अधिवेशनमै पेश गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले कुनैपनि सामाजिक सञ्जालहरु सरकारमा दर्ता नभएको खण्डमा प्रतिवन्ध गर्ने बताउनु भयो । उहाँले अहिले नेपालमा दर्ता भएर सञ्चालनमा आएको सामाजिक सञ्जाल टिकटक मात्रै रहेको र मेटा (फेसबुक), इन्स्टाग्राम, ह्वाट्सएप लगायत अन्य सामाजिक सञ्जाललाई पनि दर्ताका लागि सार्वजनिक आह्वान गरिएको बताउनु भयो । नेपालमा उनीहरुले आफ्नो प्लेटफर्म चलाएबापत सहयोग गर्नुपर्ने बताउनुभयो । टिकटकले नेपालको पर्यटन प्रवद्धन लागि सहयोग गरिरहेको उहाँको भनाइ छ ।