भटमास र सूर्यमुखी तेलको निर्यात बढ्यो

पर्सा । पर्साको वीरगञ्ज नाका हुँदै भटमास र सूर्यमुखीको प्रशोधित तेल निर्यात बढेको छ । चालू आर्थिक वर्षको ६ महिनामा झन्डै १२ अर्ब रुपैयाँको भटमास र तीन अर्ब रुपैयाँभन्दा धेरैको सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ ।

भटमासको तेल ११ अर्ब ९९ करोड १८ लाख रुपैयाँको ५ करोड ६० लाख ६६ हजार लिटर निर्यात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले बताउनुभयो । गएको वर्ष ६ महिनाको अवधिमा ३ करोड ११ लाख रुपैयाँको १ लाख १ हजार ३ सय १ लिटर भटमासको प्रशोधित तेल निर्यात भएको थियो ।

चालू आर्थिक वर्षको ६ महिनामा ३ अर्ब २१ करोड ९१ लाख रुपैयाँको २ करोड २८ लाख ४५ हजार लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । गएको वर्ष ६ महिनामा नौ करोड ९४ लाख १० हजार रुपैयाँ बराबरको सूर्यमुखीको तेल निर्यात भएको कार्यालयले जनाएको छ ।