सरकारी कम्पनीहरुमा सर्वसाधारणको शेयर स्वामित्व २५ प्रतिशत बनाउँछौँ : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारी स्वामित्वमा रहेका कम्पनीहरुमा सर्वसधारणको २५ प्रतिशत स्वामित्व वृद्धि गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ ।

नेपाल टेलिकमको २१ औँ वार्षिकोत्सव समारोह बोल्दै मन्त्री गुरुङले सरकारले सार्वजनिक संस्थाहरु सुधार हुन नसकेकाले अब नेपाल टेलिकम तथा नेपाल विद्युत प्राधिकरणजस्ता संस्थाहरुमा सर्वसाधरणको स्वामित्व २५ प्रतिशत पुर्‍याउने योजना रहेको बताउनु भयो।

उहाँले टेलिकमको ९२ प्रतिशत शेयर सरकारको र ८ प्रतिशत मात्रै सर्वसाधरणको रहेको भन्दै अब कम्तिमा पनि २५ प्रतिशत सर्वसाधरणको शेयर पुर्‍याउन आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले विद्युत प्राधिकरणको पनि २५ प्रतिशत शेयर सर्वसाधरणको लागि दिने तयारी गरेको उल्लेख  गर्नुभयो ।

उहाँले सरकारी कम्पनीलाई हेर्ने दृष्टिकोण फरक भएकाले सर्वसाधरणको स्वामित्व वृद्धि गरी जनताले आफ्नो पनि अपनत्व अनुभव गराउन स्वामित्व वृद्धि गर्न आवश्यक रहेको बताउनु भयो।  उहाँले  संस्थामा जनताको निगरानी बढ्ने र व्यवस्थापनलाई पनि सर्वसाधरण जनता र ग्राहकप्रति संवेदनशील भएर पारदर्शीता कायम गर्न सचेत गराउने उल्लेख गर्नुभयो ।