क्यानडा र मेक्सिकोमा आयातकर लगाउने अमेरिकी प्रस्ताव एक महिनाका लागि स्थगित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोमा २५ प्रतिशत कर लगाउने प्रस्तावलाई एक महिनाका लागि स्थगित गर्नुभएको छ ।

मेक्सिको र क्यानडाले सीमा सुरक्षा सुधार गर्न र लागूपदार्थको तस्करीलाई रोक्न विभिन्न उपाय अपनाउन सहमति जनाएपछि कर लगाउने प्रस्तावलाई एक महिना पछि धकेलिएको बीबीसीले जनाएको छ ।

मेक्सिको अवैध औषधिको ओसारपसार रोक्न सीमामा दश हजार सैनिक खटाउन तयार भएको छ भने क्यानडाले लागूऔषधको समस्यालाई सम्बोधन गर्न एक जना वरिष्ठ सार्वजनिक अधिकारी नियुक्त गर्ने बताएको छ ।

यस्तै मेक्सिकोका राष्ट्रपति क्लाउडिया शीनबामले दक्षिणमा हतियार ओसारपसारलाई सीमित गर्न अमेरिकासमेतले प्रतिबद्धता जनाएको बताउनुभएको खबरमा उल्लेख छ ।

यसअघि ट्रम्पले युरोपेली सङ्घमाथिसमेत व्यापार शुल्क लगाउने चेतावनी दिनुभएको थियो । तर बेलायतसँग एक सम्झौतामा काम गर्न सकिने सुझाव पछि उहाँ पछि हट्नुभएको थियो ।

ट्रम्पले आयात कर लगाइनु पर्ने कयौँ कारणमध्ये सीमा सुरक्षा, अवैध औषधिको प्रवाह, व्यापार घाटालगायतलाई प्राथमिकताका साथ उठाउँदै आउनुभएको छ ।