त्रिदेशीय महिला टी–२० शृङ्खलामा थाइल्यान्डको लगातार तेस्रो जीत

काठमाण्डौ । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा थाइल्यान्डले नेदरल्यान्ड्सलाई १७ रनले हराएको छ ।

थाइल्यान्डले दिएको ८७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स १५ ओभर ५ बलमा ६९ रनमा अलआउट भयो । नेदरल्यान्ड्सका कप्तान बबेते डी लीडेले २५, आइरिस ज्विलिङ्गले १३, क्यारोलिन डी लाङ्गेले १० रन बनाएपनि अन्य खेलाडीकाले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । थाइल्यान्डका थिपाचा पुथावोङ्ग र ओनिचा काम्चोम्फुले ३र३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको थाइल्यान्ड १९ ओभर ५ बलमा ८६ रनमा अलआउट भयो । थाइल्यान्डकी चानिदा सुथिरुआङ्गले २७ रन बनाइन् । नेदरल्यान्ड्सका आइरिस ज्विलिङ्ग, इभा लिन्च र सिल्भर सिगेर्सले २र२ विकेट लिए ।

थाइल्यान्ड लगातार तेस्रो जीतसहित ६ अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा छ । नेदरल्यान्ड्स ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नेपाल लगातार ३ वटा खेलमा हार बेहोर्दै पुछारमा छ ।

प्रतियोगितामा भोलि नेपाल र थाइल्यान्ड खेल्दैछन् । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।