पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्छ: अमेरिका
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउनुभएको छ । पानामाले नहरमा चीनको नियन्त्रण परिवर्तन नगरेमा अमेरिकाले नहरलाई नियन्त्रण लिन बाध्य हुने पनि रुबियोले चेतावनी दिनुभएको छ ।
पानामाले चीनसँगको बढ्दो साँठगाँठ कम नगरेमा अमेरिकाले आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने उहाँको चेतावनी छ । अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच हिजो पानामा सिटीमा भएको भेटवार्तापछि यो चेतावनी आएको हो ।
पानामाका राष्ट्रपति मुलिनोले पानामा नहरमा अमेरिकी कब्जाको कुनै खतरा नदेखेको बताउनुभएको छ । अमेरिकाले पानामा नहरमा चीनको प्रभाव बढेको देख्नु उसकै कमजोरी रहेको पनि मुलिनोको भनाइ छ ।
यसैबीच पानामामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आन्दोलन चर्किएको छ । पानामा नहर नियन्त्रणमा लिने भन्दै ट्रम्पले दिएको अभिव्यक्तिविरुद्ध पानामा देशभर प्रदर्शन भएको हो ।
पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।
संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ ।
इन्जिनियरिङ हिसाबले निकै जटिल मानिएको यो नहर निर्माणका क्रममा २५ हजार जनाको ज्यान गएको थियो । पानामा नहर पानामा देशको अर्थतन्त्रको मुख्य स्रोत हो । यसबाट पानामाले वार्षिक अर्बौं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ ।