अर्जुन ट्रफी क्रिकेट : झापालाई हराउँदै डडेल्धुराको लगातार दोस्रो जीत
काठमाण्डौ । अर्जुन ट्रफी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा फ्रेन्ड्स युथ क्लब डडेल्धुराले बोस्टन क्रिकेट झापालाई हराएको छ ।
खराब मौसमका कारण १५ ओभरमा झारिएको खेलमा डडेल्धुराले झापालाई ७७ रनले हरायो । डडेल्धुराले दिएको १ सय ४४ रनको लक्ष्य पछ्याएको झापाले १५ ओभरमा ९ विकेट गुमाएर ६६ रनमात्रै बनाउन सक्यो । झापाका दिपु भुजेलले १५ र सनम बुढाथोकीले १७ रन बनाउनुबाहेक अरू ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । डडेल्धुराका कुशल भुर्तेलले ४, अजय चौहानले २ तथा सन्दीप जोरा, रवि विष्ट र आवाज गौतमले १र१ विकेट लिए ।
यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको डडेल्धुराले १५ ओभरमा ३ विकेट गुमाएर १ सय ४३ रन बनायो । डडेल्धुराका आयुष्मान बमले नटआउट ५७, सन्दीप जोराले ५१, किरन ठकुन्नाले नटआउट २१ रन बनाए । झापाका अरुण ऐरीले २ विकेट लिए ।
प्रतियोगितामा लगातार दोस्रो जितसहित डडेल्धुरा तालिकाको शीर्ष स्थानमा छ । १ खेल खेलेको झापा पुछारमा छ । प्रतियोगितामा अहिले एक्सिलेन्स किक्रेट सेन्टर काठमाण्डौ र सीवाईसी अत्तेरिया खेलिरहेका छन् ।
प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।