रवि लामिछानेसहित १४ जनाविरुद्ध आज चितवनमा मुद्दा दर्ता गरिँदै

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था ठगीमा चितवन जिल्ला अदालतमा आज मुद्दा दर्ता हुँदैछ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लामिछाने सहित १४ जना र ६ वटा संस्थाविरूद्व आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न लागेको हो।

सर्वोच्चका अदालतका न्यायाधीश हरि फुयाँल चितवनमा रहेका कारणले केही ढिला गरी मुद्दा दर्ता गर्ने तयारी छ।

लामिछानेसहितविरूद्व ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता हुनेछ।

प्रहरीको अनुसन्धानमा ३८ करोड ९ लाख ७९ हजार रूपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीबाट विभिन्न कम्पनीमा गएको रकमसमेत गर्दा ५६ करोड २२ लाख ५० हजार हाराहारीमा रकम बिगो कायम हुनुपर्ने प्रतिवेदनमा उल्लेख छ।

सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटी तिरेर लामिछाने छुटेका थिए ।