यातायात व्यवस्था विभागमा झन्डै २८ लाख लाइसेन्स छाप्न बाँकी

काठमाण्डौ । यातायात व्यवस्था विभागमा छाप्न बाँकी स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को संख्या झन्डै २८ लाख पुगेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको विभागले स्मार्ट लाइसेन्स छाप्दै आएको छ ।

विभागसँग हाल लाइसेन्स छाप्न एउटामात्रै प्रिन्टिङ मेसिन छ । यस मेसिनबाट दैनिक करिब चारहजार लाइसेन्स छाप्न सक्ने विभागले जनाएको छ ।

दैनिक नयाँ छाप्नुपर्ने लाइसेन्सको संख्या पनि हजारको संख्यामा हुँदा एकै मेसिनले २८ लाख लाइसेन्स छाप्न ढिलाइ हुने भएपछि विभागले अर्को मेसिन पनि किन्न खोजको छ । बजेटमा व्यवस्था भए पनि हालसम्म नयाँ मेसिन खरिद गर्ने प्रक्रिया भने अघि बढेको छैन ।

अर्कातिर प्रदेश सरकारहरूलाई नै संवैधानिक अधिकार भएकाले उनीहरूले लाइसेन्स प्रिन्ट गर्ने तयारी गरिरहेका छन् । प्रदेश सरकारले छाप्न थाले पनि पहिलेदेखि बाँकी रहेका लाइसेन्स भने आफैँ छाप्ने विभागको तयारी छ ।

कोसी प्रदेशले हाल क्यूआरसहितको लाइसेन्स छाप्दै आएको छ । वाग्मती प्रदेशले डिजिटलसँगै प्रिन्ट पनि गर्न थालेको छ । यस्तै, गण्डकीले पनि छाप्ने तयारी गरिसकेको छ ।

“प्रदेश सरकारहरूले लाइसेन्स छाप्न थालेका छन् । तर, पुरानो २८ लाख चाहिँ विभागले नै छाप्ने कि भनेर नयाँ मेसिन पनि किन्ने भन्ने छ,” विभागका सूचना अधिकारी गणेशमानसिंह राईले भने । मेसिन किन्न टेन्डर प्रक्रिया भने अघि बढिनसकेको उहाँले बताउनुभयो ।

सरकारले हाल नागरिक एपमा देखिने लाइसेन्सलाई पनि मान्यता दिइसकेको छ । लाइसेन्ससँगै नागरिक एपबाटै ट्राफिक नियम उल्लंघन भएमा जरिवाना पनि तिर्न सकिन्छ ।

विभागले दैनिकरूपमा अत्यावश्यक कार्डहरू पनि छाप्दै आएको छ ।