लुम्बिनी प्रदेशका सहकारी संस्था ५ भागमा वर्गीकरण हुने
दाङ । लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थाको वर्गीकरण गर्ने भएको छ । लुम्बिनी प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष टीकाराम पोख्रेलले विभिन्न ५ भागमा सहकारी वर्गीकरण गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार विभिन्न ५२ वटा सूचकका आधारमा सहकारी संस्थाको वर्गीकरण गरिने छ । राम्रा र नराम्रा सहकारीलाई एउटै वर्गमा राख्न नमिल्ने भन्दै बोर्डका कार्यकारी उपाध्यक्ष पोख्रेलले सहकारीलाई वर्गीकरण गर्न लागिएको जानकारी दिनुभयो । सहकारी कानुनसँग सम्बन्धित सुशासनका ३५ सहित विभिन्न ५२ वटा सूचकका आधारमा वर्गीकरण गर्न लागिएको हो ।
सहकारीमा ऋण सुरक्षणको अवस्था, भाका नाघेको ऋणको अवस्था, वार्षिक साधारणसभा, लेखापरीक्षण, आन्तरिक लेखापरीक्षण, सम्पत्ति शुद्धीकरण निवारण, कार्यविधि निर्माण, सेवा, बचत र सदस्यको अनुपात, पुँजीको अनुपातलगायत विषयलाई वर्गीकरणको आधार मानिने छ ।
वर्गीकरणका लागि प्रदेशभित्रका सबै सहकारी संस्थालाई पत्राचार गरिएको छ । लुम्बिनीका १२ वटै जिल्लामा प्रदेश मातहतका ५० जना कर्मचारीलाई तालिम दिई परिचालनसमेत गरिएको छ । लुम्बिनी प्रदेश भित्र चार हजारभन्दा धेरै सहकारी संस्था छन् ।