त्रिदेशीय महिला टी–२० शृङ्खलामा नेपालकाे लगातार दाेस्राे हार

काठमाण्डाै  ।  त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपाल थाइल्यान्डसँग ४ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय २ रनको लक्ष्य थाइल्यान्डले ६ बलअघि नै ६ विकेट गुमाएर भेटायो । थाइल्यान्डकी नान्नापट कोन्चारेनकाईले नटआउट ६० रन बनाइन् । नेपालकी मनिष उपाध्यायले २ विकेट लिइन् ।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो । नेपालका विन्दु रावल र कविता कुँवरले समान २५ रन बनाए । थाइल्यान्डकी थिपचा पुत्थावोङ्गले ३ विकेट लिइन् ।

त्रिदेशीय शृङ्खलामा नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रनले पराजित भएको थियो । थाइल्यान्डको भने यो लगातार दोस्रो जीत हो । थाइल्यान्डले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८ विकेटले हराएको थियो ।

प्रतियोगितामा भोलि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ । लिग चरणमा शीर्ष रहने टोलीले उपाधि जित्नेछ ।