अमेरिकाले आजदेखि मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा थप कर लगाउँदै

एजेन्सी । मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा अमेरिकाले आजदेखि थप कर लगाउँदैछ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको थियो ।

त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५/२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १० प्रतिशत कर लगाउने समयसीमा आजदेखि लागू हुँदैछ ।

राष्ट्रपति ट्रम्पले यसअघि मेक्सिको र क्यानडाले अमेरिका प्रवेश गर्ने आप्रवासी र फेन्टनाइल औषधिको प्रवेश नरोके ‘ट्यारिफ’ लगाउने चेतावनी दिनुभएको थियो । आयातित सामानमा लगाइने करलाई ‘ट्यारिफ’ भनिन्छ ।

यदि कर लागू भएमा क्यानडा र मेक्सिकोको अर्थतन्त्रमा ठूलो क्षति पुग्ने जोखिम छ । किनभने यी दुवै देशले अमेरिकामा वस्तु निर्यात गर्छन् ।

अक्सफोर्ड इकोनोमिक्सका टोनी स्टिलोका अनुसार यसबाट ती देशसहित अमेरिकी उपभोक्ताका लागि पनि मूल्य वृद्धि हुन सक्छ । उहाँले यो आर्थिक मन्दीको जोखिम रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

भन्सार महसूल वृद्धिले औद्योगिक खरिदकर्ता र उपभोक्ता दुवैलाई धक्का दिनेछ र यसले मेसिनरीदेखि फलफूलसम्म सबै कुरालाई प्रभावित गर्नेछ ।

क्यानडा र मेक्सिकोले अमेरिकी घोषणाको चुनौतीलाइ सामना गर्ने जनाएका छन् । त्यस्तै चीनले पनि आफ्नो ‘राष्ट्रियहित’ को रक्षा गर्ने र व्यापार युद्धमा कोही पनि विजेता नहुने बताएको छ ।