सबै दलको सहमतिमा संविधान संशोधन हुन्छ: सभापति देउवा

काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै दलको सहमतिमा संविधान संशोधन हुने बताउनुभएको छ । प्रतिनिधिसभाको पाँचौं अधिवेशनको पहिलो बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले संविधानका राम्रा र नराम्रा पक्षको समीक्षासहित संशोधनको प्रक्रिया पनि प्राथमिकताका साथ अघि बढाइने उल्लेख गर्नुभयो ।

हिउँदे अधिवेशन कानुन निर्माण गर्ने अधिवेशनका रूपमा लिइने भएकाले विचाराधिन विधेयक र नयाँ विधेयकमाथिको संसदीय प्रक्रियामा शीघ्रता दिइनुपर्ने उहाँको भनाइ थियो । त्यस्तै वर्तमान सरकार गठन भएको साढे छ महिना पूरा भएको स्मरण गर्नुहुँदै सभापति देउवाले कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बीच भएको सात बुँदे सहमति कार्यान्वयनमा जोड दिनुभयो ।

अहिलेको सरकारले नागरिकको विकास र समृद्धिको आकांक्षालाई पूरा गर्नेगरी काम गरिरहेको पनि उहाँले बताउनुभयो । देशको समग्र विकासका लागि लोकतन्त्रको सुनिश्चितता र सुदृढ अर्थतन्त्र आवश्यक हुने उल्लेख गर्नुहुँदै सभापति देउवाले सबै दलहरुलाई यी विषयलाई केन्द्रमा राखेर अघि बढ्न आग्रह गर्नुभयो ।

व्यावसायिक वातावरण प्रवर्द्धक गर्न, लगानीको अनुकूल वातावरण बनाउन अध्यादेशबाट केही कानून ल्याइएको र यसले देशको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको उहाँको भनाइ छ । सुशासनको सुनिश्चितता र सेवा प्रवाहमा सहजताका लागि सरकारले अध्यादेशमार्फत कानून ल्याएको उहाँको भनाइ छ ।