विश्वभर युवामा क्यान्सरको समस्या बढेको अध्ययनको निष्कर्ष
विश्वभर युवाअबस्थामा क्यान्सरका घटनाहरु बढेको पाइएको छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययन अनुसार सन् १९९० देखि २०१९ को बीचमा ५० वर्षमुनिका व्यक्तिहरूमा क्यान्सरको घटना ७९ प्रतिशतले बढेको छ । यस्तै यो उमेर समूहमा क्यान्सरसँग सम्बन्धित मृत्युदर २८ प्रतिशतले बढेको पाइएको छ । अध्ययनले विश्वभरिका दुई सय चार वटा देशमा २९ प्रकारका क्यान्सरहरूको विश्लेषण गरेको थियो ।
यस्तै अमेरिकाको क्यान्सर सोसाइटीको नयाँ प्रतिवेदन अनुसार सन् २०१२ र २०२१ को बीचमा ५० वर्षभन्दा कम उमेरका महिलाहरूमा स्तन क्यान्सरको दर वार्षिक एक दशमलव चार प्रतिशतले बढेको छ । युवाहरुमा नाकको पछाडि, पेट र ठूलो आन्द्रा तथा मलाशयको क्यान्सरको दर पनि बढेको छ ।
विश्व स्वास्थ्य सङ्गठनका अनुसार क्यान्सरको जोखिम बढ्नुमा मोटोपना र होर्मोन अनियमितता मुख्य कारण हुन् । द ल्यान्सेट प्रतिवेदन अनुसार अमेरिकामा क्यान्सर भएका १७ युवामध्ये १० जनामा मोटोपना थियो । खानपानमा रातो मासु र नूनको बढी प्रयोग, फलफूल र दूधको कम प्रयोग तथा जाँडरक्सी र चुरोटबिडीले पनि क्यान्सर बढाएको पाइएको छ ।
वैज्ञानिकहरूले कृत्रिम प्रकाश, माइक्रोप्लास्टिक र अति प्रशोधित खानाको प्रयोग पनि क्यान्सरको कारक हुने बताएका छन् । क्यान्सर रोकथामका लागि स्वस्थ खानपान, नियमित व्यायाम र स्वास्थ्य परीक्षणमा विज्ञहरुको जोड छ ।