पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारी अस्पताल अवलोकन
थरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मोरङको उर्लाबारी–३ मङ्गलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको निरीक्षण गर्नुभएको छ । उहाँले अस्पतालले दिने सेवा सुविधा, भौतिक संरचना, अस्पतालमा भएका सामग्री र स्वास्थ्य कर्मचारीको दरबन्दी साथै अवस्थाका बारेमा जानकारी लिनुभएको हो ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रविकुमार शाहले अस्पतालको भावी योजनाका बारेमा पूर्वराष्ट्रपति भण्डारीलाई जानकारी गराउनुभएको थियो । पन्ध्र शय्याको दरबन्दी रहेको अस्पतालले ५५ शय्याको सेवा दिँदै आएको उहाँले जानकारी दिनुभयो । पचास शय्याको मात्र अनुमति भए पनि बिरामी चापले ५५ शय्याको सेवा दिँदै आएको र उपकरण सामग्री पर्याप्त हुनासाथ अस्पतालले चाँडै ६० शय्याको सेवा दिने उहाँको भनाइ छ ।
अवलोकनका क्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका तीन अस्पताललाई एक सय शय्याको अस्पतालमा स्तरवृद्धि गर्ने बताउनुभयो । उहाँले पहाडको बसाइँसराइ रोक्न धनकुटा र ताप्लेजुङको अस्पताल स्तरोन्नति गर्न प्रदेश सरकार लागिपरेको बताउनुभयो ।
पूर्वराष्ट्रिपति भण्डारीले जननेता मदन भण्डारीको नाम जोडिएको ट्रमा सेन्टरलाई चाँडै सबै पूर्वाधार तयार गर्न सरकार लागिपरेको बताउनुभयो । पहाडको बसाइँसराइ रोक्न पनि धनकुटा र ताप्लेजुङमा सबै उपचार हुनेगरी सुविधासम्पन्न अस्पताल आवश्यक हुने उहाँको भनाइ छ ।
कोशी प्रदेशकै सरकारको गौरवको आयोजना रहेको यस नमूना अस्पतालबाट ट्रमाका सम्पूर्ण सेवाका साथ आकस्मिक सेवा, भिडियो एक्से, सिटी स्क्यान, ओपिडी, प्रयोगशाला, अन्तरङ्ग, रेडियोलोजी/रेडियोग्राफी, फार्मेसी, फिजियोथेरापी, नेत्ररोग, खोप, एम्बुलेन्स, पोष्टमार्टम तथा फ्रिजर, प्रसूति तथा सुरक्षित गर्भपतन सेवा, नेत्ररोग सेवा दिँदै आएको छ ।
विसं २०४९ चैतमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा सुरू अस्पताल २०७२/७३ सालमा १५ शय्यासहितको मङ्गलबारे अस्पताल हुँदै २०७७ साल साउनदेखि ५० शय्याको अस्पतालसहित ट्रमा सेन्टरका रूपमा स्तरोन्नति भएको हो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष गुरूप्रसाद बराल, कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा, केन्द्रीय सदस्य युवराज बाँस्कोटा, उर्लाबारी नगरपालिकाका प्रमुख गङ्गाप्रसाद खरेललगायत एमाले नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।