पूर्व राष्ट्रपति भण्डारीद्वारा युवा वैज्ञानिकहसँग अन्तर्किया

 बिराटनगर । कोशी प्रदेश भ्रमणमा रहनु भएका पूर्व राष्ट्रपति विद्यादेवी भन्डारीले सोमबार बिराटनगरमा युवा बैज्ञानिकहरूसँग अन्तर्किया गर्नु भएको छ।

कार्यक्रममा बिराटनगर क्षेत्रमा कृयाशील इन्जिनियरिङ, प्राध्यापन र बिज्ञान क्षेत्रका युवा विधार्थीहरू सहभागी थिए।कोशी प्रदेशका शैक्षिक संस्थाहररूको भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति भण्डारीले देशभरका युवाहरूसँग आफू निरन्तर अन्तर्कियामा रहेको बताउनु भयो ।

सो अवसरमा उहाँले नेपालको शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेकोले र यसका लागि युवाहरूलाई सकृय रहन आग्रह गर्नु भयो। शिक्षा, विज्ञान तथा प्रविधि , स्वास्थ्य, जलवायु परिवर्तन र त्यसले पारेका असरहरूमा आफ्नो ध्यान केन्द्रीत रहेको बताउनुहुँदै भण्डारीले अहिलेका समस्याहरू सामुहिक पहलकदमीबाट मात्र समाधान हुनेमा भण्डारीले जोड दिनुभयो।

बिराटनगरसँग राजनैतिक र भावनात्मक सम्बन्ध रहेको बताउदै यहाँको ठूलो क्याम्पस महेन्द्र मोरङ्ग क्याम्पसको शैक्षिक र भौतिक गुणस्तर बढाउन आफू निरन्तर कृयाशील रहने बताउनु भयो।

अन्तर्क्रियाको क्रममा पूर्व राष्ट्रपति भण्डारीले युवा बैज्ञानिकहरूद्वारा व्यक्त सवालहरूमा आफ्नो चासो रहेको र समाधानका लागि पहलकदमी लिने बताउनु भयो। पाठ्यक्रममा देखिएका समस्या, भौतिक असुविधा, अनुसन्धान गर्ने वातावरणको अभावले युवा बैज्ञानिकहरु पलायन हुने अवस्था रहेको उल्लेख गर्दै त्यस अवस्थाको अन्त्यको लागि राज्यले आबश्यक पहलकदमी लिनुपर्नेमा भण्डारीकोनजोड रहेको थियो ।

देशभित्र उत्पादन गर्न सकिने कृषि, वन र बनस्पती जन्य वस्तुहरु पनि उत्पादन नगर्दा अरबौ रुपैया देश बाहिर गएको र त्यस्तो धनराशी देश भित्र राख्न सके शिक्षा र विज्ञान प्रविधिको विकासका लागि पुँजीको अभाव नहुने बताउदै उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्दै सबल र गरिमामय नागरिक जीवन निर्माणमा युवाहरुले भुमिका खेल्नु पर्ने कुरामा उहाँले जोड दिनु भयो। नेपालका विश्वविद्यालयहरूलाई अनुसन्धानमुखी शैक्षिक थलोका रूपमा विकसित गरी दक्ष जनशक्तीलाई देश निर्माणमा लगाउन आवश्यक रहेको तर्फ सरकारको ध्यानाकर्षण गराउने भण्डारीले बताउनु भयो।

नेपालको विकास र समृद्धिका लागि सम्भावनाहरुको खोजी गर्नु पर्ने कुरामा जोड दिदै युवाहरुको भूमिका आशाको सञ्चार गर्न उल्लेखनीय हुने बताउनु भयो। कार्यक्रममा सहभागी युवा बैज्ञानिकहरूले पूर्व राष्ट्रपति भण्डारीसँग आफ्ना कुराहरु निर्धक्क राख्न पाउँदा खुशी लागेको बताउदै शिक्षा, विज्ञान प्रविधि, स्वास्थ्य र जलवायु परिवर्तनका मुद्दामा उहाँको पहलकदमीमा आफूहरूको निरन्तर साथ रहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।