बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा : ह्युमन राइट्स वाच

बङ्गलादेशले हसिना शासनका गल्तीहरू दोहोर्‍याउने खतरा रहेको अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचु (एचआरडब्ल्यू) ले चेतावनी दिएको छ ।

पत्रकारहरूविरुद्धको प्रतिशोध र जथाभाबी गिरफ्तारीले पदच्यूत प्रधानमन्त्री शेख हसिनाको शासनकालमा देखिएका कानूनी दुरुपयोगहरू अन्तरिम सरकारले पनि दोहोर्‍याउने खतरा रहेको एचआरडब्ल्यूले चेतावनी दिएको एएफपीले जनाएको छ ।

विद्यार्थी नेतृत्वको क्रान्तिले आफ्नो १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेपछि हसिना गएको अगस्टमा भारततर्फ भाग्नुभएको थियो । नोबेल शान्ति पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा रहेको अन्तरिम सरकारले दूरगामी लोकतान्त्रिक सुधारहरू स्थापना गर्ने र नयाँ चुनाव गर्ने वाचा गर्दै केही दिनपछि कार्यभार सम्हालेको थियो ।

एचआरडब्ल्यूले आज निकालेको प्रतिवेदनमा युनुसको प्रशासनले हसिनाको आवामी लिग पार्टीका विरोधीहरूलाई यातना दिने साधनका रूपमा प्रयोग गरिएका कमजोर संस्थाहरूको सुधार प्रक्रिया सुरु गरेको बताएको छ । तर ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) का एशिया निर्देशक इलेन पियर्सनले यदि अन्तरिम सरकारले द्रुत र संरचनात्मक सुधारहरू कार्यान्वयन नगरे कठिन मेहनतले प्राप्त प्रगति सबै गुम्न सक्ने चेतावनी दिनुभएको छ ।

हसिनाको निष्कासनपछि दुई महिनामा १०औं हजार मानिसविरुद्ध आरोप दर्ता गर्दै प्रहरीले हसिनाका समर्थकहरूलाई लक्षित गर्न ‘अघिल्लो सरकारको जस्तै दुर्व्यवहारपूर्ण अभ्यासहरूमा फर्केको’ प्रतिवेदनले जनाएको छ ।

अन्तरिम सरकारले हसिनाको सरकारलाई समर्थन गर्ने पत्रकारहरूविरुद्ध कडा कारबाही गरेको पनि प्रतिवेदनमा उल्लेख छ । युनुसको सरकारले अहिलेसम्म प्रतिवेदनमाथि टिप्पणी गरेको छैन ।
एजेन्सी