शहीद सप्ताहअन्तर्गत आज गंगालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

काठमाण्डौ ।  शहीद सप्ताहअन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सालिकमा पुष्प गुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

यही माघ १० गतेदेखि शुरू भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज विष्णुमती नदी किनार शोभा भगवतीमा शहीदहरुको शालिकमा पुष्पगुच्छा अर्पणसहित सम्झना गर्न लागिएको हो । श्रेष्ठ र चन्दलाई मृत्युदण्ड दिइएको ठाउँमा स्तम्भ, अर्ध कदको सालिक र पूर्ण कदका सालिक राखिएका छन् ।

राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवती क्षेत्रमा मृत्युदण्ड दिइएको थियो ।

शहीद सप्ताह कार्यक्रम अन्तर्गत माघ १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा र अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्थापना गरिएको सालिकमा पुष्प गुच्छा अर्पण गरिएको थियो ।

हरेक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिन्छ । शहीद दिवसको अवसरमा भोलि शान्ति बाटिकाबाट प्रभातफेरि गर्दै लैनचौरमा पुगेर सभा हुनेछ ।