हिजबुल्लाह हटाउने समय सकिएलगत्तै दक्षिणी लेबनानमा इजरायली सेनाको आक्रमण, २२ जनाको ज्यान गयो

एजेन्सी । इजरायली सेनाले गरेको आक्रमणमा परी दक्षिणी लेबनानमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अरु एक सय २४ जना घाइते भएका छन् ।

विद्रोही समूह हिजबुल्लाहलाई हटाउने समयसीमा समाप्त हुनासाथ त्यस क्षेत्रमा सेना परिचालन गरेर आक्रमण शुरू भएको बीबीसीले जनाएको छ ।

इजरायली सुरक्षा बलले नागरिकमाथि आक्रमण गरेको लेबनानको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ ।

लेबनानी सेनाले इजरायली आक्रमणमा नागरिकबाहेक आफ्ना एक सैनिक मारिएको र अन्य एक सैनिक घाइते भएको जनाएको छ ।

लेबनानी सेनाले असुरक्षाको  चेतावनी दिए पनि हजारौँ बासिन्दाहरू सीमा नजिकका शहर र गाउँहरूमा फर्किएका छन् ।

गएको नोबेम्भरमा भएको हिजबुल्लाहसँगको ६० दिने युद्धविराम सम्झौता इजरायलले पूर्ण रूपमा कार्यान्वयन नभएको बताएको छ । लेबनानबाट इजरायली सैनिक फिर्ताबारे पनि अझै स्पष्ट जानकारी छैन ।