ललितपुर महानगरपालिकामा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ
ललितपुर । ललितपुर महानगरपालिकाले साप्ताहिक ट्राफिक सचेतना कार्यक्रमको शुभारम्भ गरेको छ । महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आज जावलाखेलमा कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
महानगरले ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा साप्ताहिक ट्राफिक सचेतना कार्यक्रम शुभारम्भ गरेको हो । सडक सुरक्षाका लागि जनचेतना फैलाउने र ट्राफिक नियम पालना गराउने उद्देश्यले साप्ताहिक ट्राफिक सचेतना सुरुवात गरिएको महानगरले जनाएको छ ।
मेयर महर्जनले महानगरपालिकामा भर्खरै इन्टेलिजेन्स ट्राफिक लाइटको शुभारम्भ गरिएको र यसबाट ट्राफिक व्यवस्थापनमा केही सहज भएको बताउनुभयो । नियम उल्लङ्घन गर्ने गाडी चालकलाई निरन्तर कारबाही हुँदै आएको उहाँको भनाइ छ ।
मेयर महर्जनले ललितपुर महानगरपालिकालाई स्मार्ट सिटीको रूपमा विकास गरिरहेको दाबी गर्नुभयो ।