
अर्थतन्त्र चलायमान बनाउन सरकारले अध्यादेश ल्यायाे : अर्थमन्त्री पाैडेल
काठमाण्डाै । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले अर्थतन्त्र चलायमान बनाउन अध्यादेश ल्याएको बताउनुभएको छ ।
भन्सार दिवसको अवसरमा आज काठमाण्डौमा भएको कार्यक्रममा अर्थमन्त्री पौडेलले उत्पादन, उत्पादकत्व र कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा वृद्धि गर्ने उद्देश्यले अध्यादेश ल्याएको बताउनुभयो । निजी क्षेत्रले सरकारले ल्याएका अध्यादेशलाई सकारात्मक रूपमा लिएको भन्दै उहाँले सरकारले अर्थतन्त्र चलायमान बनाउन चालेका कदमहरू अन्तिम नभएको र आउँदा दिनमा अझ धेरै काम गर्दै जाने उल्लेख गर्नुभयाे ।
निराशा, अविश्वास र शिथिलताबाट नागरिकलाई मुक्त गर्नुपर्ने दायित्व सरकारसँग रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । उहाँले राजस्व सङ्कलनमा सहयोगी भूमिका निर्वाह गर्न निजी क्षेत्रलाई आग्रह समेत गर्नुभएको छ ।
राजस्व चुहावट, अनियमितताजस्ता प्रवृत्तिलाई निरुत्साहित गर्न, वैधानिक रूपले कारोबार गर्न निजी क्षेत्रका छाता सङ्गठनले आफ्ना सदस्यलाई निर्देशित गर्नुपर्नेमा अर्थमन्त्री पौडेलको जोड छ ।