युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न दिएन
एजेन्सी । हमासले युद्धविरामको उल्लङ्घन गरेको भन्दै इजरायलले उत्तरी गाजामा प्यालेस्टाइनी प्रवेश गर्न रोक लगाएको छ ।
इजरायलको आक्रमणका कारण हजारौँ प्यालेस्टाइनीहरु उत्तरी गाजाबाट विस्थापित भएका थिए । युद्धविराम सम्झौता भएपछि केही मानिस आफ्नो घर फर्किएपनि इजरायलले अहिले प्यालेस्टाइनीलाई आफ्नै घरमा जान समेत रोकेको छ ।
इजरायलले मुख्य सडक नै अवरुद्ध गरेको छ । हिजो हमासले चार जना इजरायली महिला सैनिकलाई रिहा गरेपछि विवाद शुरु भएको हो ।
सम्झौता अनुसार हिजो हमासले इजरायली नागरिक अर्बल येहूदलाई पनि रिहा गर्नुपर्ने थियो । हमासले सैनिकहरूभन्दा पहिले नागरिकहरूलाई रिहा गर्नुपर्ने विषय सम्झौतामा उल्लेख छ ।
युहूदलाई रिहा नगरेसम्म उत्तरी गाजामा कुनै पनि नागरिकलाई प्रवेशमा रोक लगाइएको इजरायलले जनाएको छ । हमासले भने यहूद जीवित रहेको र अर्को हप्ता रिहा हुने बताएको छ ।