बाग्मती प्रदेशको शहरी विकासले सञ्चालन गरेका बहुवर्षीय योजनाको काम अन्तिम चरणमा

काठमाण्डौ । बाग्मती प्रदेशको शहरी विकास तथा भवन कार्यालय हेटौँडाले सञ्चालन गरेका धेरैजसो बहुवर्षीय योजनाको काम अन्तिम चरणमा पुगेका छन् । हेटौँडा उपमहानगरपालिका–१० मा निर्माणाधीन बाग्मती प्रदेशसभा हलको काम सम्पन्न भई हस्तान्तरणको क्रममा छ ।

त्यस्तै हेटौँडा उपमहानगरपालिका–२ मा निर्माणाधीन बाग्मती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् सभाहलको काम अन्तिम चरणमा पुगेको सहरी विकास तथा भवन कार्यालय मकवानपुरका प्रमुख इञ्जिनियर सुवोध अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०७७र७८ मा सम्झौता भई चालु आर्थिक वर्ष २०८१र८१ मा सम्पन्न गर्ने गरी निर्माण भइरहेको मुख्यमन्त्री सभाहलको ९९ प्रतिशत काम सम्पन्न भएको छ । त्यस्तै हेटौँडा उपमहानगरपालिका–१ हेटौँडा अस्पताल भवनको काम पनि भइरहेको छ ।

शहरी विकास तथा भवन कार्यालय मकवानपुरका अनुसार अस्पताल भवनको काम अहिलेसम्म ८० प्रतिशत सम्पन्न भइसकेको छ ।

कार्यालयको बहुवर्षीय योजनाअन्तर्गत चितवनमा निर्माणाधीन जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय भवन र भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको भवन चालु आर्थिक वर्षभित्रै सकिने गरी काम भइरहेको छ ।

चितवनको राप्ती ४ मा निर्माणाधीन इको टुरिजम पार्क, शिखर हरियालीको काम चालु आर्थिक वर्षभित्रै सकिने गरी काम अघि बढेको छ ।

त्यस्तै चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पताल मातृ शिशु भवनको काम चालु आवभित्रै सकिने गरी काम अघि बढेको छ ।

बहुवर्षीय योजनाका काममा विभिन्न कारणले बीचमा काममा केही ढिलाइ भएपनि सम्झौता अवधिभित्रै सम्पन्न गर्न निर्माण कम्पनीसँग समन्वय हुँदै आएको कार्यालय प्रमुख अधिकारीले बताउनुभएको छ ।