प्रधानमन्त्री कप महिला टी–२० उपाधिका लागि आज सुदूरपश्चिम र एपीएफ खेल्दै
काठमाण्डौ । धनगढीमा चलिरहेको प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज सुदूरपश्चिम प्रदेश र एपीएफ क्लब खेल्दैछन् ।
खेल बिहान १० बजे सुरू हुनेछ । हिजो सम्पन्न सुपर फोरको अन्तिम खेलमा बाग्मती प्रदेशलाई ३० रनले हराएर सुदूरपश्चिम फाइनलमा पुगेको हो ।
त्यसअघि हिजै भएको सुपर फोरको पहिलो खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ६९ रनले हराएर फाइनलमा पुगेको हो । यही माघ १ गतेदेखि सुरू भएको प्रतियोगितामा १२ टोलीको सहभागिता रहेको थियो ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घको आयोजना र सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको व्यवस्थापनमा प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिताको उपाधि विजेताले पाँच लाख, उपविजेताले तीन लाख, प्लेयर अफ द सिरिजले ५० हजार, बेस्ट ब्याटर र बेस्ट बलरले २५–२५ हजार रूपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।