मदन भण्डारी कलेजमा हल्ट प्राइज अभिमुखीकरण सत्र सम्पन्न

सुप्रिया राई, काठमाण्डौ । मदन भण्डारी मेमोरियल कलेजमा ‘हल्ट प्राइज २०२५’ का लागि अभिमुखीकरण सत्रको आयोजना गरिएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूमा उद्यमशीलता, सिर्जनात्मकता, र स्टार्टअप क्षमताको विकास गर्ने उद्देश्यले आयोजित यो सत्रले हल्ट पुरस्कारको चुनौती, संरचना, र यसले प्रदान गर्ने अवसरहरूको विषयमा विस्तृत जानकारी दिएको छ ।

सत्रमा सहभागी विद्यार्थीहरूले स्टार्टअप आइडिया, स्टोरी पिच, सिड फन्डिङ, र क्राउडसोर्सिङ जस्ता विषयहरूमा आफ्ना प्रस्तुति दिएका थिए । कार्यक्रमले व्यवसाय सञ्चालन गर्न आवश्यक लगानी, सीप, बजारको माग र उत्पादनको ब्रान्डिङको महत्त्वका बारेमा जानकारीसमेत प्रदान गरेको थियो । विद्यार्थीहरूले आफूले प्रस्तुत गरेका विचारहरू मार्फत प्रतिस्पर्धा गर्नेछन् र विजेता टोली हल्ट पुरस्कार २०२५ मदन भण्डारी मेमोरियल कलेजको प्रतिनिधि रूपमा चयन हुनेछन् ।

हल्ट पुरस्कार नेपालकी नेशनल कम्युनिटी लिडर गरिमा श्रेष्ठले सहभागीहरूलाई आफ्ना विचारलाई प्रभावकारी समाधानमा रूपान्तरण गर्न, समान सोच भएका व्यक्तिहरूसँग जोडिन, र विश्वव्यापी सकारात्मक परिवर्तन ल्याउन प्रोत्साहन गर्नुभयो । उहाँले हल्ट पुरस्कार जस्ता मञ्चले विद्यार्थीहरूलाई आफ्ना विचारहरूलाई व्यवहारिक क्षेत्रमा लगेर परिवर्तनकारी व्यवसाय सिर्जना गर्न सहयोग पुर्‍याउने बताउनुभयो ।

कलेजका प्रमुख डा. बाबुराम अधिकारीले विद्यार्थीहरूको नयाँ सोच र सिर्जनात्मकतालाई सधैँ प्रोत्साहन गर्ने कुरा व्यक्त गर्दै शैक्षिक र व्यावसायिक उन्नयनका लागि कलेजले निरन्तर प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँले यस अवसरमा कलेजले विद्यार्थीहरूको सोचलाई उचित दिशा दिने र उनीहरूको रचनात्मकतालाई प्रोत्साहित गर्ने वातावरण सिर्जना गर्ने बताउनुभयो । उहाँले यस कसिमिका कार्यक्रमहरूले विद्यार्थीहरूलाई आफ्ना सम्भावनाहरू पहचिान गर्न र एक नयाँ उद्यमशीलता यात्रा सुरु गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

हल्ट पुरस्कार विश्वभरका १३०० भन्दा बढी विश्वविद्यालयमा सञ्चालन हुने प्रमुख विद्यार्थी नेतृत्वको प्रतियोगिता हो । यसले सामाजिक उद्यमशीलताको माध्यमबाट विश्वका महत्त्वपूर्ण समस्याहरू समाधान गर्न विद्यार्थीहरूलाई प्रेरित गर्दछ । सहभागी टोलीले १ मिलियन अमेरिकी डलर पुरस्कार जित्ने लक्ष्यसहित व्यवसायिक योजना तयार गर्नुपर्नेछ । टोलीमा २ देखि ४ जना, १८ वर्ष पूरा गरेका डिग्री अध्ययनरत विद्यार्थी सदस्य हुनुपर्छ ।

यस प्रतियोगिताले विशेषज्ञहरूको निर्देशन, स्टार्टअप एक्सेलेरेटरको पहुँच, र अन्तर्राष्ट्रिय लगानीकर्ता तथा मार्गनिर्देशकहरूसँग प्रत्यक्ष सम्पर्कको अवसर प्रदान गर्दै सहभागीहरूलाई व्यक्तिगत र व्यावसायिक उचाइमा पुर्‍याउन सहयोग गर्दछ ।