महानगर यातायातका थप ४० नयाँ बस सञ्चालनमा, आईपीओ जारी गर्ने घोषणा

काठमाण्डौ। काठमाण्डौको चक्रपथमा यात्रुलाई सेवा दिँदै आएको महानगर यातायात प्रालिले थप ४० वटा बस सञ्चालनमा ल्याएको छ ।

२०७२ सालमा स्थापना भएको महानगर यातायात प्रालिले यसअघि ४९ वटा सिटी बसमार्फत यात्रुलाई सेवा दिँदै आएको थियो । अब बसहरुको संख्या ८९ पुगेको छ ।

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिको नैकापस्थित कार्यालयमा हिजो नयाँ बसहरुको साँचो हस्तान्तरणसँगै आजबाट नयाँ बसहरु सँचालनमा आएको कम्पनीले जनाएको छ । नयाँ बस थपिएसँगै चक्रपथबाहेकका अन्य गन्तव्यहरुमा पनि सेवा दिने कम्पनीले बताएको छ ।

कम्पनीका उपाध्यक्ष सन्तोष खतिवडाले बस थपिएसँगै महानगर यातायातले काठमाण्डौको चन्द्रागिरी, गोदाम र थानकोटदेखि काभ्रेको बनेपा हुँदै धुलिखेलसम्मका रुटमा सेवा दिने बताउनुभयो ।

आगामी एक वर्षभित्रै ५० वटा विद्युतीय बस पनि सञ्चालनमा ल्याउने तयारी भएको र महानगर यातायात अब पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण हुने र यातायातले आफ्नो आईपीओ जारी गर्ने तयारी गरेको जानकरी दिनुभयो

कम्पनीका अध्यक्ष मधुसुदन उपाध्यायले पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएसँगै महानगर यातायात नेपालको सार्वजनिक यातायात क्षेत्रको पहिलो पब्लिक लिमिटेड कम्पनी भएको बताउनुभयो ।