चितवन महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार
काठमाण्डौ । १५ औं संस्करणको चितवन महोत्सव सकिएको छ । गएको पुस २५ गतेदेखि नारायणगढको नारायणी नदी किनारको प्रदर्शनी मैदानमा सुरु भएको महोत्सव हिजो समापन भएको हो ।
१५ दिनसम्म चलेको महोत्सव झण्डै ५ लाख जनाले अवलोकन गरेका आयोजक उद्योग वाणिज्य सङ्घ चितवनले जनाएको छ । साथै महोत्सवमा ३० करोड रुपैयाँ बराबरको कारोबार भएको महोत्सव मूल समिति संयोजक एवम् उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा रोजगार मेला, मह परिसर, लघु, घरेलु परिसर, कृषि परिसरलगायत ४ सय ३० स्टल रहेका थिए । यो महोत्सवले उद्योग व्यवसायको प्रवर्द्धन, कला, साहित्य र संस्कृतिको संरक्षण, आदिवासी जनजातीको परम्पराको जर्गेनाका साथै कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, उर्जा सूचना प्रविधि र पूर्वाधारलगायतका क्षेत्रहरुको विकासमा महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।