आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन राष्ट्रपति पौडेलको आग्रह
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले आदिवासी, जनजाति समुदायका आदिकविहरूको नाम उपलब्ध गराउन आग्रह गर्नुभएको छ । शीतल निवासमा आज आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०८०र०८१ को वार्षिक प्रतिवेदन बुझ्दै उहाँले आदिवासी जनजाति समुदायभित्र रहेका आदिकविकहरूको नाम र सालिक उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
राष्ट्रपति पौडेलले आयोगले मगर, राईलगायत आदिवासी जनजाति समुदायभित्र रहेका विभिन्न जातिहरूका आदिकविहरूको नाम र सालिक पाएमा तनहुँको चुँदीरम्घामा निर्माण हुने भानु साहित्य उद्यानमा राख्ने योजना रहेको बताउनुभयो ।
पौडेलले ४ सय बिघा जग्गा सरकारसँग लिएर आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदीरम्घामा भानु साहित्य उद्यान बनाउन लागेको उल्लेख गर्नुभयो । त्यहाँ बनाइने मूर्ति बाटिकामा विभिन्न जातजातिका आदिकविको मूर्ति रहने उहाँको भनाइ छ ।
राष्ट्रपति पौडेलले आदिवासी, जनजाति समुदायको भाषा, लिपि, संस्कृति, इतिहास, परम्परा, साहित्य, कलाको संरक्षण, सम्वर्द्ध एवम् विकास तथा यी समुदायको सशक्तीकरण गरी सर्वाङ्गीण हितलाई सुनिश्चित गर्ने सन्दर्भमा नेपालको संविधान एवम् कानूनले आयोगलाई महत्त्वपूर्ण जिम्मेवारी दिएको बताउनुभयो ।