परराष्ट्रमन्त्री आरजु राणा देउवाद्वारा अमेरिकी विदेशमन्त्रीलाई बधाई
काठमाण्डौ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले संयुक्त राज्य अमेरिकाको ७२औँ विदेशमन्त्रीमा मार्को रुबियो नियुक्त हुनुभएकामा हार्दिक बधाई ज्ञापन गर्नुभएको छ। सामाजिक सञ्जाल एक्समार्फत उहाँले नवनियुक्त आफ्ना अमेरिकी समकक्षी रुबियोप्रति बधाई ज्ञापन गर्नुभएको हो।
परराष्ट्रमन्त्री देउवाले बधाई ज्ञापन गर्दै नेपाल र अमेरिकाबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन विदेशमन्त्री रुबियोसँग सहकार्य गर्न आफू तत्पर रहेको एक्समा उल्लेख गर्नुभएको छ।
नवनियुक्त अमेरिकी विदेशमन्त्री रुबियो फ्लोरिडाका राज्यसभा सदस्य हुनुहुन्छ। त्रिपन्न वर्षीय उहाँको नियुक्तिको प्रस्तावलाई सिनेटले ९९ मतले अनुमोदन गरेको हो । उहाँलाई विदेशमन्त्री नियुक्ति गर्नेसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्तुत गर्नु भएको प्रस्तावको विपक्षमा एक मत पनि नपरेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।