युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध युद्ध पुनः शुरु गर्ने नेतान्याहुको चेतावनी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धविरामको दोस्रो चरणको वार्ता असफल भएमा हमास विरुद्ध युद्ध पुनः सुरु गर्ने चेतावनी दिनुभएको छ ।

आइतबार युद्धविराम सुरु हुनुभन्दा केही घण्टा अगाडि टेलिभिजनमा सम्बोधन गर्दै नेतान्याहूले युद्धविराम अस्थायी भएको र इजरायलले गाजामा पुनः आक्रमण गर्ने अधिकार सुरक्षित राखेको जानकारी दिनुभएको छ ।

विगत १५ महिनामा इजरायलको सैन्य अभियानको सफलताको बारेमा पनि उल्लेख गर्दै नेतान्याहुले हमास नेता याह्या सिनवारको मृत्यु हुनु आफुहरुको लागि ठुलो उपलब्धि भएको उल्लेख गर्नुभयो ।

सम्बोधनकै क्रममा मध्य पूर्वको अनुहार परिवर्तन गरेको जनाउँदै नेतान्याहूले हमास अब पूर्ण रूपमा एक्लो भएको दाबी गर्नुभयो । युद्धविराम हुनुअघि हमासद्वारा रिहा गरिने बन्धकहरूको सूची प्राप्त नभएसम्म इजरायलले सम्झौता लागू नगर्ने उहाँको भनाइ छ ।

सम्झौताका शर्तहरू अन्तर्गत, इजरायलले गाजाबाट आफ्नो सेना फिर्ता बोलाउन पनि शुरु गर्नेछ । यद्दपी पहिलो चरणमा रिहा गरिने बन्धकहरूलाई कहाँ हस्तान्तरण गरिनेछ भन्ने कुरा स्पष्ट छैन ।

एक वरिष्ठ इजरायली सैन्य अधिकारीले उत्तरी, मध्य र दक्षिणी गाजामा सीमा नजिकै बन्दीहरुको लागि तीनवटा स्वागत बिन्दुहरू तयार पारिएको जानकारी दिनुभयो ।