
कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट, आक्रमण गर्नेलाई कारबाही गर्न कांग्रेसको माग
काठमाण्डौ । झापामा कोशी प्रदेश मुख्यमन्त्री उद्धव थापामाथि कुटपिट भएको छ ।
प्रेस युनियन झापाले आयोजना गरेको वार्षिक साधारण सभाबाट बा १ झ ६५३ नम्बरको गाडीमा फर्किंदै गरेका पूर्वमुख्यमन्त्री थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कन्काई नगरपालिकाको जुकेखाडीनजिक कुटपिट गरेको प्रहरीले जनाएको छ।
कुटपिटबाट थापा घाइते हुनुभएको छ। उहाँको आँखामा चोट लागेको छ। थापा बिर्तासिटी अस्पतालमा सामान्य उपचार पछि घर फर्किएको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी मिलन केसीले जानकारी दिनुभयो।
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको थियो। सोही विवादका क्रममा ती चालकले थापामाथि हातपात गरेको प्रहरीले जनाएको छ।
थापामाथि कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।
यसैबिच, नेपाली कांग्रेसले आफ्नो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापामाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग गरेको छ ।