‘असमानताको विरुद्ध रातो घेरा कोरौँ’ भन्ने मूल नाराका साथ काठमाण्डौमा बृहत जनप्रदर्शन
सुप्रिया राई, काठमाण्डौ । ‘असमानताको विरुद्ध रातो घेरा कोरौँ’ भन्ने मूल नाराको साथ आज असमानता विरुद्धको प्रदर्शन गरिएको छ ।
असमानता विरुद्ध विश्व अभियान (फिया नेपाल) को आयोजनामा ट्रेड युनियन तथा नागरिक समाजका संस्थाहरुद्वारा बृहत जनप्रदर्शन तथा सभा गरिएको हो । आज माघ ५ गते भएको प्रदर्शनी, भृकुटीमण्डपबाट सुरु भइ टुँडिखेल परिक्रमा पछि शान्तीबाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।
जिफन्टका अध्यक्ष बिनोद श्रेष्ठले विश्वमा बढ्दै गएको आर्थिक असमानता र व्यापक बन्दै गएको जलवायु परिवर्तनको लागि जिम्मेवार राष्ट्रहरूलाई शोधभर्ना गराउनुपर्ने माग गर्दै काठमाण्डौमा प्रदर्शन गरिएको बताउनुभयो । रेड रिबन एक्सनमार्फत धनीहरुलाई उनीहरुको दायराभित्र ल्याइ उनीहरुको कार्यको बारेमा सचेत गराउन कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।
संसारभर श्रमजीविवर्गहरु असमान कर प्रणाली, असमान ज्याला वितरण तथा जलवायु परिवर्तनले शोषीत, पिडित र अन्यायमा परेको उहाँले बताउनुभयो । उनीहरुको हक, हित र आवाजमा एक्यवद्यता जनाउनका निम्ति आजको प्रदर्शनी नेपालमा मात्रै नभएर विश्वभर एकैसाथ गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरुले ‘जिउन पुग्ने ज्याला व्यवस्था गर’, ‘गरीब श्रमिकलाई होइन धनाढ्यलाई कर लगाऊ’, ‘डावोसका सिफारिशहरु मान्दैनौँ’, ‘हामी ९९% हौँ’, ‘हाम्रो कुरा सुन’, लगायतका विभिन्न प्लेकार्डहरु बोकेका थिए । उनीहरुले विश्वमा १% रहेका धनी समुदायले ९९% गरीबहरुको बारेमा बोल्न र सोच्नुपर्ने बताएका हुन् ।