फलाम खानी र मल कारखाना खुल्दैछ, ऊर्जा खपतको चिन्ता गर्नु पर्दैन : प्रधानमन्त्री ओली
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलाम खानी र मल कारखानाजस्ता ठूला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचामा सञ्चालनको तयारी भएकाले उत्पादित ऊर्जाको खपतको चिन्ता लिइरहनु नपर्ने बताउनु भएको छ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्प्पान)को रजत जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले ऊर्जाले खपदका ठाउँहरु आफैं बनाउने भएकाले ऊर्जा बिक्रीको चिन्ता गरिरहनु नपर्ने बताउनुभएको हो। सरकारले आगामी ११ वर्षभित्र २८ हजार पाँच सय मेगावाट विजुली उत्पादनको मार्गचित्र तयार गरेको छ।
प्रधानमन्त्री ओलीले ऊर्जा क्षेत्रमा सरकारको लगानीका साथै निजी क्षेत्र र वैदेशिक क्षेत्रको लगानीलाई पनि उत्तिकै महत्व दिइएको जनाउँदै व्यवस्था बदलियो अवस्था बदलिएन भन्नेहरुलाई उत्पादकहरुले सफलताका कथा देखाएर अवस्थामा परिवर्तन ल्याएको स्पष्ट गर्नुभयो ।
राजनीतिक सन्दर्भमा बोल्दै प्रधानमन्त्री ओलीले सरकारले जनतालाई सेवा दिन र विकासको गति दिन विभिन्न कानुनमा संशोधनका लागि अध्यादेश ल्याएको स्पष्ट गर्दै आगामी १५ दिनपछि हुने ससद्को अधिवेशनमा पेस गरी दुई महिनाभित्र पारित गर्ने जनाउनुभयो ।
प्रधानमन्त्री ओलीले आयातीत फोसिल फ्युलको कम प्रयोग गर्दै नवीकरणीय ऊर्जाको प्रयोग बढाएर मुलुकलाई समृद्ध बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो।