ट्राफिक प्रहरीको उद्देश्य गाडी चालकलाई कारबाही गर्ने होइन : ट्राफिक प्रहरी प्रमुख घिमिरे

काठमाण्डौ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य गाडी चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।

कार्यालयमा आज आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले ट्राफिक प्रहरीले गाडी चालकलाई जिम्मेवार बनाउनका लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्नुभयो । उहाँले अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकतामा नराखेको उल्लेख गर्नुभयो ।

प्रमुख घिमिरेले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बसेर गाडी चालकलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो ।

सडक लेनको कारबाहीमा परेका चालकले लिने कक्षालाई अनलाइन बनाउन लागिरहेको ट्राफिक प्रहरी प्रमुख घिमिरेको भनाइ छ ।

कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष सिटौलाले उपत्यकामा २१ लाख वटा मोटरसाइकल रहेको उल्लेख गर्नुभयो । सार्वजनिक गाडीले राम्रो सेवा दिन नसक्दा निजी गाडीको सङ्ख्या बढेको उहाँले बताउनुभयो । सरकारले विदेशको जस्तो सार्वजनिक गाडीको सुविधा खोज्ने तर पूर्वाधार नबनाउनु कमजोरी भएको सिटौलाले उल्लेख गर्नुभयो ।

विद्युतीय गाडीलाई यातायात व्यवसायीले स्वागत गरे पनि राज्यले विद्युतीय गाडीका लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।