शिक्षक सेवा आयोगमा सदस्य नियुक्तिको प्रकृया सुरु

भक्तपुर । उमेर हदका कारण पदावधि सकिएका शिक्षक सेवा आयोगका दुई सदस्य पदमा नयाँ नियुक्तिका लागि शिक्षा मन्त्रालयले प्रकृया सुरु गरेको छ । ‘शिक्षक सेवा आयोगका सदस्य नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिको बैठक र छनोट सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम १५ दिनको समय दिएर मन्त्रालयले मंगलबार दरखास्त आह्वान गरेको हो ।

तत्कालिन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको स्वार्थका कारण सिफारिस भएको सात महिना पछि बल्ल नियुक्त भएका तीनै दुई सदस्यको उमेरहदका कारण अवकास भए पछि नियुक्तिको प्रकृया सुरु गरिएको हो ।

जनसेवा मावि काठमाडौं, कीर्तिपुरको प्रधानाध्यापकबाट अवकास भएकी नन्दकुमारी महर्जन र शिक्षा मन्त्रालयका पूर्व सहसचिव डा। डिल्लिराम रिमाल लाई २०७७ पुषमा नियुक्ति गर्न सिफारिस गरिएको थियो । उनीहरु मध्ये महर्जन गत असोजमा र रिमाल यही माघ अन्तिममा ६५ बर्षे उमेर हदका कारण अवकास हुँदै छन् । यीनै दुई पदका लागि दरखास्त आह्वान गरिएको हो । यीनिहरुको नियुक्ति भने समयमै भएको थिएन । त्यही बर्षको असोजमा रिक्त अध्यक्ष सहित सदस्य नियुक्तिका लागि सिफारिस भए पनि तत्कालिन मन्त्री श्रेष्ठले आफू निकट मान्छे नियुक्ति गर्न नपाएकोले नियुक्ति रोकेको आरोप लागेको थियो ।

त्यतिखेर मन्त्री श्रेष्ठको शैलीको चौतर्फि आलोचना भएको थियो । नियुक्तिमा भएको ढिलाईले नयाँ शिक्षक छनौट र शिक्षकहरुको वृत्ति विकास ठप्प भएको थियो । मन्त्रीको उक्त शैलीको आलोचना बढे पछि सरकारले २०७८ साउन १९ गते बल्ल अध्यक्षमा पूर्व सचिव मधु प्रसाद रेग्मी सहित दुई सदस्य नियुक्ति गरेको थियो ।

मान्यताप्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेका, दुई बर्ष देखि कुनै राजनीतिक दलको सदस्य नभएका, ४० बर्ष पुरा भई ६५ बर्ष ननाघेका, कानून, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिका १५ बर्ष काम गरेको अनुभव भएकाले दरखास्त हाल्न पाउने छन् । यसैगरी कम्तिमा तीन हजार देखी पाँच हजार शब्दसम्मको अवधारणा सहितको कार्ययोजना पेश गर्नु पर्ने छ ।