राष्ट्रिय कृषि जैविक विविधता दिवसको अवसरमा साताव्यापी कार्यक्रम
काठमाण्डौ । स्वस्थ जीवन र पर्यावरणका लागि कृषि जैविक विविधता’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय कृषि जैविक विविधता दिवस साताव्यापी मनाउन लागिएको छ । कृषि विभागले विभिन्न निकायसँगको सहकार्य र समन्वयमा माघ पहिलो हप्ताभर विभिन्न कार्यक्रम आयोजना गरेको छ ।
२०७९ भदौ २७ गतेको मन्त्रिपरिषद् बैठकबाट हरेक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसका रूपमा मनाउने निर्णय भएअनुसार कार्यक्रम गर्न थालिएको हो ।
यो दिवसले नेपालमा परम्परागत रूपमा रहेका अनेकौँ जातजाति, धार्मिक एवम् संस्कृतिक परम्परासँग सम्बन्धित कृषि र खानाका परकार तथा सम्बद्ध सीपको जगेर्ना गर्न मद्दत पुर्याउनुका साथै स्थानीय कृषि आनुवंशिक स्रोतहरूको संरक्षण एवम् दिगो उपयोग, वातावरण संरक्षणमा टेवा पुर्याउने अपेक्षा गरिएको कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले बताउनुभयो ।
कृषि जैविक विविधताको महत्वसहित यसको संरक्षणबारे जनचेतनामूलक कार्यक्रमको आयोजना गरिनुका साथै प्रादेशिक निकाय, स्थानीय तहलगायत सरकारी तथा गैरसरकारी संस्थालाई कार्यक्रम सञ्चालन गरी दिवस मनाउन पत्राचार गरिएको छ ।
जैविक विविधतामा आधारित रहेर कृषि आनुवंशिक स्रोतहरू, कृषिबाली एवम् सम्बन्धित जङ्गली प्रजाति, घाँसेबाली, पशुपन्छी, मत्स्य एवम् जलीय आनुवंशिक स्रोत, कृषि महत्वका कीरा र कृषि महत्वका सुक्ष्म जीव र कृषकका परम्परागत ज्ञानको संरक्षणमार्फत स्वस्थ जीवनयापनका लागि उपयुक्त पर्यावरण बनाउन सचेतना अभिवृद्धिसहित सप्ताहव्यापी रूपमा विविध कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
कृषि जैविक विविधता मेला अर्घाखाँचीको भूमिकास्थान नगरपालिकामा सञ्चालन हुँदैछ भने काठमाण्डौको टोखा नगरपालिकामा जैविक विविधता दिवस तथा माघेसङ्क्रान्ति मेला आयोजना गरिएको छ ।
त्यस्तै कृषि विभाग परिसर हरिहर भवन ललितपुरमा मूल समारोहसँगै कृषि जैविक विविधता एवम् परम्परागत कृषिउपज प्रदर्शनी र सम्मान एवम् पुरस्कार वितरण हुनेछ ।
सिराह, सप्तरी र सुर्खेतमा कृषि जैविक विविधता संरक्षण, प्रवर्द्धन र त्यससम्बन्धी कृषक पाठशाला सञ्चालनबारे अन्तरक्रिया हुनेछ ।
कैलाली, कञ्चनपुर, बर्दिया, दैलेख, सुर्खेत, जुम्ला, सिन्धुपाल्चोक र कास्कीलगायतका जिल्लामा कृषि जैविक विविधता मेला तथा प्रदर्शनी, कृषि जैविक विविधताको महत्वसम्बन्धी अन्तरक्रिया र माध्यमिक तहका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता सञ्चालन हुने विभागका महानिर्देशक सञ्जेलले बताउनुभयो ।