सकिएन रविको थुनछेक बहस, अब पर्सि मात्रै अदालतमा उपस्थित गराइने

काठमाण्डौ । काठमाण्डौको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस आज पनि पूरा नभएको अदालतले जनाएको छ ।

जिल्ला अदालत काठमाण्डौमा हिजोदेखि बयान सकिएर थुनछेक बहस सुरू भएकोमा आज पनि सम्पन्न हुन सकेन । थुनछेक बहस नसकिएकाले लामिछानलाई आज पनि प्रहरीले हिरासतमा लगेको छ । भोलि सार्वजनिक बिदा भएकाले प्रहरीले अब पर्सि मात्रै लामिछानेलाई अदालतमा उपस्थित गराउनेछ ।

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा आज लामिछानेतर्फका २ जना र सरकारी वकिल ९ जनाले बहस गरेका छन् । सरकारी वकिलले लामिछानेलाई थुनामुक्त गर्दा प्रमाण नष्ट हुने भएकाले थुनामै राख्ने आदेशको माग गरेका छन् भने लामिछानेका वकिलले जिल्ला अदालत पोखराले जस्तै लामिछानेलाई थुनाबाहिरै रहेर मुद्दा लड्ने सुविधा दिन माग गरेका छन् । थुनछेक बहसको आदेश नआउञ्जेल लामिछाने हिरासतमै रहनेछन् ।