एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर: सञ्चारमन्त्री गुरुङ
काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एसियामै कमजोर रहेको बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सञ्चारमन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भुटानभन्दा पनि कमजोर रहेको बताउनु भएको हो ।
सञ्चारमन्त्री गुरुङले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताउनु भयो । उहाँले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने बताउनुभयो। सञ्चारमन्त्री गुरुङले सुशासन कायम गर्नका लागि नागरिक एपको भूमिका महत्त्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताउनु भयो ।
सञ्चारमन्त्री गुरुङले भन्नुभयो, ‘नागरिक एप कार्यान्वयन गर्ने भनेर हामीलाई जिम्मा दिएको छ। नागरिक एप गाइड गर्ने कुनै ल नै भएन हामीसँग । सुशासनमा यत्ति महत्त्वपूर्ण भूमिका रहेछ त्यसको, त्यो चिज व्यवस्थापन गर्नुपर्नेछ । एआई र इ गभर्नेन्सको विषयसँग जोडिएको विषय छ । एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन। पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एसियामै सबैभन्दा पछाडि छौँ ।’