एकमहिने माधवनारायण मेला सुरु (फोटोसहित)
काठमाण्डौ । आजबाट श्रीस्वस्थानी व्रत तथा माधवनारायण मेला सुरु भएको छ । नेपाल संवतको आठौँ शताब्दीदेखि सुरु भएको एक महिने माधवनारायण व्रत एवं मेला हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।
हनुमान घाटमा आज बिहानै स्नान गर्ने तथा माधवनारायणको पूजा गर्नेहरूको चहलपहल छ । माधवनारायण भगवान् विष्णुको अर्को नाम हो । विष्णुलाई १२ महिनामा १२ वटा नामले पुकारिन्छ र पूजा गरिन्छ ।
माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्खजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्खजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ।
तस्बिर : केशब गुरुङ