आर्थिक, सामाजिक तथा सांस्कृतिक सशक्तीकरणको आवश्यकता: महासचिव पोखरेल
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जमिन नभएका सबै दलित परिवारलाई भूमि आयोगसँग जोड्नु पर्ने बताउनुभएको छ ।
आइतबार दाङमा नेपाल उत्पीडित जातीय मुक्ति समाजद्वारा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले सङ्कटग्रस्त दलित समुदायलाई जमिन र घरबासको व्यवस्था राज्यले गर्ने बताउनुभयो । संविधानले नै गरेको यो व्यवस्था जिल्ला जिल्लामा भूमि आयोग गठन हुने बित्तिकै कार्यान्वयनमा आउने महासचिव पोखरेलले स्पष्ट पार्नुभयो ।
दलित समुदायले आफ्नो सीप र पेसालाई व्यवसायीक बनाउने कुरामा पनि ध्यान दिनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । अन्यथा जीवन विकासमा नै समस्या पर्ने उहाँले स्पष्ट पार्नुभयो । समाज रूपान्तरणको लाग पनि यो जरुरी रहेको पोखरेलले बताउनुभयो ।
दलित समुदायको भोट कहाँ जान्छ भन्ने कुरा मतदानको अघिल्लो दिन मात्र थाहा हुन्छ भन्ने मानसिकताले गर्दा दलित समुदायमा राजनीतिक सशक्तीकरण हुन नसकेको महासचिव पोखरेलले बताउनुभयो । दलित समुदाय संगठित हुने हो भने राजनीतिक नेतृत्व विकास हुने महासचिव पोखरेलको धारणा छ । ‘समुदायको नेताको वरिपरि समुदाय संठित हुनु पर्यो, संगठित जीवनमा हामी जति जोडिन सक्छौँ त्यति नै समुदाय सशक्त हुन्छ’, महासचिव पोखरेलले भन्नुभयो ।
राजनीतिक परिवर्तन भइसकेकोले सामाजिक, आर्थिक र सांस्कृतिक सशक्तीकरण अबको आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाली समाज उदार समाज भएकोले सामाजिक रूपान्तरण सजिलै गर्न सकिने उहाँले दाबी गर्नुभयो ।
महासचिव पोखरेलले विभेद अन्त्य र आर्थिक, सामाजिक सशक्तीकरणमा अब ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । राज्यले सामाजिक समानताको लागि गर्नुपर्ने सबै काम गरिसकेको भए पनि हाम्रा सांस्कृतिक मान्यतासँग विभेद जोडिएका उहाँले बताउनुभयो । त्यसैले अब सामाजिक र सांस्कृतिक परिवर्तनको क्षेत्रमा काम गर्नुपर्नेमा उहाँको जोड छ । सामाजिक विभेदबाट मुक्त हुनको लागि आर्थिक रूपमा सबल हुन पनि त्यतिकै जरुरी रहेको उहाँले बताउनुभयो ।