इस्लाम महिला छात्रा शिक्षा सम्मेलनमा नोबेल पुरस्कार विजेता मलाला पनि सहभागी

इस्लामिक समुदायको छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलन पाकिस्तानको इस्लामावादमा चलिरहेको छ । सम्मेलनमा नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई पनि सहभागी हुनुहुन्छ । सम्मेलनमा सहभागी मलालाले छात्रा शिक्षासम्बन्धी शिखर सम्मेलनमा भाग लिन आफ्नो जन्मथलो फर्कन पाउँदा निकै हर्षित भएको प्रतिक्रिया दिनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

सन् २०१२ मा पाकिस्तानी तालिवान लडाकूको गोली लागेर घाइते मलालाले आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । उहाँले देशबाहिर बसेरै किशोरीको शैक्षिक तथा अन्य अधिकारका लागि आवाज उठाउँदै आउनुभएको छ । यो शिखर सम्मेलनमा मुस्लिम बहुल्यता रहेका देशबाट शैक्षिक क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको छ तर अफगानिस्तानले सहभागिता जनाएको छैन ।

अफगानिस्तानमा किशोरी तथा महिलालाई विद्यालय जान प्रतिबन्ध छ । सन् २०२१ मा सत्तामा फर्किएपछि अफगान तालिबान सरकारले इस्लामी कानूनको कडा संस्करण लागू गरेको छ जसलाई संयुक्त राष्ट्रसङ्घले ‘लैङ्गिक विभेद’ भनेको छ ।

४४ देशका मन्त्री तथा राजदूत, संयुक्त राष्ट्रसङ्घ र विश्व बैङ्कका प्रतिनिधि सहभागी दुई दिने सम्मेलनको हिजो पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले राजधानी इस्लामावादमा उद्घाटन गर्नुभएको थियो । उहाँले बालिकाका लागि शिक्षामा समान पहुँच सुनिश्चित गर्न पाकिस्तानलगायत मुस्लिम देशले महत्वपूर्ण चुनौतीको सामना गरिरहेको बताउनुभयो ।

बालिकालाई शिक्षामा पहुँच नदिनु उनीहरूको आवाज र छनौटलाई इन्कार गर्नु तथा उनीहरूको उज्ज्वल भविष्यको अधिकारबाट बञ्चित गरिनु रहेको उहाँको भनाइ छ । पाकिस्तानले आफै पनि गम्भीर शैक्षिक सङ्कटको सामना गरिरहेको छ । दुई करोड ६० लाखभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको त्यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।

एजेन्सी