मधेश कृषि विश्वविद्यालमा बजेट पारित नहुँदा कामकाज प्रभावित
सप्तरी । चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दा पनि विश्वविद्यालयको बजेट पारित नहुँदा मधेश कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ ।
विश्वविद्यालयका रजिष्ट्रार डा.भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरु नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत प्रभावित भएको छ । आर्थिक अभावमा नयाँ शैक्षिकसत्रको लागि भर्नाको प्रवेश परीक्षासमेत सञ्चालन गर्न नसकिरहेको उहाँले बताउनुभयो ।
त्यस्तै पानी, बिजुलीको बिल, घरभाडा, टेलिफोन, इन्धन र पठनपाठनका लागि आवश्यक सामग्री खरिद गर्न समस्या भइरहेको छ । विश्वविद्यालयमा कार्ययरत १९ जना कर्मचारीले तलब समेत नपाएको रजिष्ट्रार डा।ठाकुरले बताउनुभयो ।
त्यस्तै विश्वविद्यालयको निर्माणाधीन भवनको काम पनि प्रभावित बनेको छ । निर्माणको काम गरिरहेको ठेकेदार कम्पनी ओम साई राम कन्स्ट्रक्सन सातदोबाटेले भुक्तानी नपाएपछि निर्माण काम ठप्प गर्ने अवस्था आएको कम्पनीका इन्जिनियर वसन्त साहले बताउनु भयो । उहाँले मूल्य अभिवृद्धि करसहित ७ करोड ५२ लाख १६ हजार दुई सय ९५ रुपैयाँको बिल भुक्तानी नभएकाले बताउनु भयो ।
गएको जेठ र असारमा दुई वटा बिलको भुक्तानी गरी मूल्य अभिवृद्धि करसहित १३ करोड ८८ लाख छ हजार सात सय २२ रुपैयाँ भुक्तानी दिए पनि त्यसपछि पेश गरेको दुईवटा बिलको भुक्तानी हुन सकेको छैन ।
विश्वविद्यालयका सहकुलपति मधेस प्रदेश सरकारका शिक्षामन्त्री रानी शर्मा तिवारीले दुई पटक सिनेटको बैठक डाके पनि स्थगित भएको थियो । पछिल्लो पटक पुस १६ गते बसेको बैठकमा पनि कुनै निर्णय हुन नसकेको विश्वविद्यालयका उपकुलपति डा।वैद्यानाथ महतोले बताउनुभयो ।