सरकारले ल्यायो विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका : विद्यार्थी नै ‘हेल्थ एम्बेसडर’
काठमाण्डौ । सरकारले विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा निर्देशिका ल्याएको छ । गएको मङ्सिरमा मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशिका ल्याएको हो ।
निर्देशिकामा किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य प्रवर्द्धन गर्ने तथा महिनावारी स्वास्थ्य व्यवस्थापन गर्ने, स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र आधारभूत स्वास्थ्य तथा पोषण सेवाको पहुँच पुर्याउने उद्देश्य रहेको छ ।
एक हजारसम्म विद्यार्थी सङ्ख्या रहेको विद्यालयले एक जना नर्स राख्नुपर्ने र त्योभन्दा बढी विद्यार्थी सङ्ख्या भएमा थप एक जना नर्स राख्नुपर्ने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार सामुदायिक र संस्थागत विद्यालयमा विद्यार्थी नै स्वास्थ्य दूत अर्थात हेल्थ एम्बेसडर बन्ने भएका छन् ।
विद्यालय स्वास्थ्य कार्यक्रमलाई प्रोत्साहन गर्न नयाँ निर्देशिकामा स्वास्थ्य दूत र स्वास्थ्य प्रवर्द्धनात्मक मापदण्ड थप गरिएको मन्त्रालयले जनाएको छ । निर्देशिकाअनुसार विद्यालयले कक्षा ७ वा ८ मा पढ्ने एक छात्र र एक छात्रालाई हेल्थ एम्बेसडर तोक्नुपर्नेछ । विद्यार्थी सङ्ख्या पाँच सयसम्म भए दुई जना र त्योेभन्दा बढी भए विद्यार्थी अनुपातका आधारमा थप्न सकिने निर्देशिकामा उल्लेख छ ।
मन्त्रालयका अनुसार हेल्थ एम्बेसडरलाई विद्यालय नर्सको सहकार्य र समन्वयमा बृहत् यौनिकता शिक्षा, पोषण, खोप, किशोर– किशोरीको प्रजनन स्वास्थ्य तथा स्वास्थ्यसम्बन्धी सामग्रीबारे सूचना प्रवाह गर्ने जिम्मेवारी दिइनेछ ।
उनीहरूले विद्यालयको प्रार्थना समय (एसेम्ब्ली) मा आवश्यकताअनुसार एक मिनेट स्वास्थ्यसम्बन्धी जानकारी दिनुपर्ने, विपद् प्रकोपसम्बन्धी नाटक प्रदर्शनी, हाजिरी–जवाफलगायत सचेतना कार्यक्रम सञ्चालनमा सहयोग गर्र्नुपर्नेछ ।
यस्तै विद्यालय पोषण कार्यक्रममा प्रत्यक्ष सहभागी भई कार्यक्रमको योजना बनाउने, हेल्थ क्याम्पमा सहयोग गर्नेजस्ता जिम्मेवारी पनि दिइनेछ । विद्यालयले उनीहरूलाई विभिन्न तालिम तथा कार्यक्रममा सहभागी गराई अभिमुखीकरणमा सहयोग गर्नुपर्नेछ ।