काठमाण्डाै महानगरपालिकाले ७ सय २० जना शिक्षकलाई तालिम दिने
काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाकाको शिक्षा विभागले ७ सय २० जना शिक्षकका लागि विषयगत, प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन व्यवस्थापन र एकीकृत पाठ्यक्रम विषयमा तालिम आयोजना गर्ने भएको छ । विभागले ‘टिचर कलेज कार्यक्रम’ अन्तर्गत शिक्षकहरूको क्षमता विकास गराएर यसबाट प्राप्त योग्यता र सीपलाई नतिजा सुधारको लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागेको हो । आउँदो माघ ३ गते शुरू हुने तालिममा महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका जुनसुकै विद्यालयमा अध्यापन गराइरहेका शिक्षकलाई सहभागी गराइनेछ ।
तालिममा सहभागी हुन महानगरपालिकाले जारी गरेको क्यूआर कोड वा लिङ्कबाट आवेदन दिन सकिनेछ । आवेदन दिनका लागि महानगरले सूचनामा लिङ्क पनि राखेको छ । आवेदकमध्येबाट सामुदायिक विद्यालयका शिक्षकलाई छनोट प्राथमिकतामा राखिनेछ ।
शिक्षकको क्षमता विकास गराएर शैक्षिक क्रियाकलापलाई सिर्जनात्मक, एकीकृत, सीप र व्यवहारमा आधारित बनाउने लक्ष्य राखेर तालिम सञ्चालन गर्न लागेको महानगरले जनाएको छ । तालिमले शिक्षकको वृत्ति विकास र विद्यार्थीको नतिजा सुधार दुवै पक्षमा सकारात्मक नतिजा ल्याउने महानगरपालिकाको अपेक्षा छ ।
तालिममा सहभागी हुन इच्छुक शिक्षकहरूले माघ २ गते दिउँसो १ बजेभित्रमा अनलाइनबाट आवेदन दर्ता गराउनुपर्नेछ । तालिममा सहभागी आवेदकको नाम र तालिम केन्द्र यसै दिन प्रकाशन गरिने महानगरको शिक्षा विभागले जनाएको छ ।