प्रेस चौतारीको १०औँ महाधिवेशन प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुहुने
काठमाण्डौ । प्रेस चौतारी नेपालको फागुन २५ देखि २७ गतेसम्म विराटनगरमा हुने १०औँ महाधिवेशनको उद्घाटन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने भएको छ।
महाधिवेशनको बन्द सत्रलाई पार्टी महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुहुने भएको छ। प्रेस चौतारी नेपालको सचिवालय बैठकले गरेको सो निर्णयलाई केन्द्रीय कमिटीको जुम बैठकले अनुमोदन गरेको संगठनका महासचिव हीरामान लामाले जानकारी दिनुभयो।
महाधिवेशन सम्पन्न गर्न संगठनका अध्यक्ष गणेश बस्नेतको नेतृत्वमा मूल व्यवस्थापन समिति गठन गरिएको छ। जसमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू, केन्द्रीय आयोगका पदाधिकारी र सदस्य, प्रदेश समितिका अध्यक्ष तथा महाधिवेशन आयोजना गरिएको प्रदेश र जिल्ला अध्यक्ष सदस्य रहनुहुने भएको छ।
महाधिवेशनको व्यवस्थापनका लागि संगठनका सचिव तथा कोशी प्रदेश इञ्चार्ज विक्रम लुइँटेलको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। व्यवस्थापन समिति सदस्य केन्द्रीय कार्यालयसँग समन्वय गरी संयोजकले आवश्यकताअनुसार निर्माण गर्न संयोजकलाई बैठकले जिम्मेवारी दिएको छ।
बैठकले संगठनका जिल्ला अधिवेशन माघ २५ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ । त्यस्तै प्रदेश अधिवेशन फागुन ७ गतेभित्र सक्ने निर्णय भएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने संगठनको तत्कालीन र दीर्घकालीन कार्ययोजना तयारीको प्रस्ताव तयार पार्न उपाध्यक्ष गणेश पाण्डेको संयोजकत्वमा ७ सदस्यीय प्रस्ताव समिति गठन भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने समसामयिक प्रस्ताव लेखनका लागि उपाध्यक्ष सविन प्रियाशन चौधरीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन भएको छ ।
यसै गरी स्मारिका प्रकाशनका लागि उपाध्यक्ष राजेश राईको संयोजकत्वमा ७ सदस्यीय स्मारिका प्रकाशन समिति गठन गरिएको छ । महाधिवेशनको प्रचार प्रसारका लागि उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ५ सदस्यीय प्रचार प्रसार समिति गठन भएको छ ।
महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठानिक प्रतिवेदन लेखनका लागि महासचिव हिरामान लामाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ । महाधिवेशन प्रस्तुत गरिने आर्थिक प्रतिवेदन लेखनका लागि कोषाध्यक्ष इन्द्रप्रसाद आचार्यको संयोजकत्वमा ३ सदस्यीय आर्थिक प्रतिवेदन लेखन समिति गठन गरिएको छ ।
महाधिवेशनमा अभिलेख व्यवस्थापनका लागि उपमहासचिव शुरोजंग पाण्डेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।
महाधिवेशन प्रतिनिधि व्यवस्थापनका लागि संगठनका सचिव हरिबल्लभ नेपालको संयोजकत्वमा १५ सदस्यीय प्रतिनिधि व्यवस्थापन समिति गठन गरिएको छ । महाधिवेशनमा प्रस्तुत हुने विधान संशोधन सम्बन्धी प्रस्ताव लेखनका लागि सचिव प्रदीप आचार्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको छ ।
महाधिवेशनमा आर्थिक सङ्कलन तथा व्यवस्थापनका लागि सचिव विष्णु तारुकेको संयोजकत्वमा १० सदस्यीय आर्थिक व्यवस्थापन समिति गठन गरिएको छ ।
अतिथि सत्कार समितिको संयोजकमा सचिव लोग्शरी कुँवरको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको छ ।
बैठकले ३२ जना केन्द्रीय सदस्य तथा तीन जना लेखा आयोगका सदस्य मनोनीत गर्ने निर्णय पनि गरेको छ ।
संगठनको स्थापना दिवसको दिन प्रदान गरिँदै आएको हृदयचन्द्र सिंह प्रधान र अग्निशिखा स्मृति पत्रकारिता पुरस्कारसहित सबै पुरस्कार सिफारिस गर्न वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति गठन भएको छ । त्यस्तै महिला पत्रकारलाई प्रदान गर्ने गरी यसै वर्ष स्थापना गरिएको प्रेस चौतारी राष्ट्रिय महिला पत्रकारिता पुरस्कार सिफारिस गर्न उपाध्यक्ष देवीका घर्ती मगरको संयोजकत्वमा ३ सदस्सीय समिति गठन गरिएको छ ।