मदन भण्डारी कलेजलाई क्यूएए प्राप्त (फोटोसहित)
सुप्रिया राई, काठमाण्डौ । विश्वविद्यालय अनुदान आयोग (यूजिसि) ले मदन भण्डारी मेमोरियल कलेजलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए– क्वालिटी एस्युरेन्स एन्ड एक्रेडिटेसन) प्रमाणपत्र प्रदान गरेको छ ।
आज (बिहीबार) आयोगको सभा कक्षमा आयोजित समारोहकाबीच कलेजलाई प्रमाणपत्र प्रदान गरिएको हो । आयोगका अध्यक्ष देवराज अधिकारीले शुभकामना दिनुहुँदै क्यूएए पाउन कलेजले गरेको प्रयास र सुधारका विषयलाई सराहना गर्नुभयो । मदन भण्डारी कलेजले स्थापनाकालदेखि शिक्षा र समुदायस्तरमा पारेको प्रभावले क्यूएए प्रमाणित हुन थप सहज बनाएको उहाँको भनाइ थियो । यो सफलतालाई कलेजले क्षणिक खुसीको विषय मात्र नबनाएर जिम्मेवारीका साथ निर्वाह गर्न आयोगका अध्यक्ष अधिकारीले सुझाव दिनुभयो ।
कलेजका प्रमुख डा. बाबुराम अधिकारीले झण्डै दश वर्षदेखि निरन्तर गरिएको धैर्यपूर्वक प्रयासका कारण यो सफलता हाँसिल गर्न सम्भव भएको बताउनुभयो ।
उहाँले अब विद्यार्थीहरुलाई अन्तराष्ट्रियस्तरको अध्ययन, अनुसन्धानका लागि बाटो खुला भएको बताउनुभयो । विधार्थीहरुको शैक्षिक उन्नयनका निम्ति कलेजले सधैँ अभिभावकको भूमिका निर्वाह गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विश्वविद्यालय अनुदान आयोगले नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजका साथै मध्य पश्चिमाञ्चल विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टलाई आज गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्यूएए) प्रदान गरेको हो ।
क्यूएए प्रत्येक पाँच वर्षमा पुनः प्रत्यायन लिनुपर्छ र लगातार तीन पटक प्रत्यायन लिए त्यो कलेजलाई डिन विश्वविद्यालयको मान्यता प्रदान गर्ने व्यवस्था छ ।
क्यूएए प्राप्त गरेपछि आज मदन भण्डारी कलेजले एक कार्यक्रमको आयोजना गरी खुसीयाली मनाएको छ ।
सो अवसरमा कलेज व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष रामशरण प्याकुरेलले साझा प्रयत्नको प्रतिफलस्वरुप क्यूएए प्रमाणपत्र प्राप्त गर्न सफल भएकोमा कलेज परिवारलाई बधाइ ज्ञापन गर्नुभयो ।
सो अवसरमा कलेज व्यवस्थापन समितिका सदस्यहरु, पूर्व पराराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल, प्राध्यापक डा. प्रेम सागर चापागाँइ र मदन भण्डारी फाउण्डेसनका सचिव डेगेन्द्र पाण्डले बधाइ ज्ञापन गर्दै कलेजको शैक्षिक गुण्स्तर अभिवृद्धि गर्दै लैजान सुझाव दिनुभयो ।
मदन भण्डारी कलेज वि.सं २०५८ सालमा स्थापित सामूदायिक कलेज हो । यस कलेजमा मानविकी, विज्ञान, व्यवस्थापन, सूचना प्रविधीलगायतका विषयहरुमा कक्षा १२, स्नातक र स्नातकोत्तर तहमा पठनपाठन हुँदै आएको छ ।